अर्बपति इलन मस्कले घोषणा गरे नयाँ दल ‘द अमेरिका पार्टी’

0 Shares

विश्वको सबैभन्दा धनी अर्बपति इलन मस्कले नयाँ दल खोलेका छन् । हालैमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका मस्कले नयाँ राजनीतिक पार्टी ‘द अमेरिका पार्टी’स्थापनाको घोषणा गरेका हुन् ।

‘फजुल खर्च र भ्रष्टाचारले देश जर्जर बनेको हुन्छ भने त्यहाँ लोकतन्त्र होइन हामी एक दलीय प्रणालीमा हुन्छौँ,’ मस्कले एक्समा लेखेका छन्, ‘आज, तपाईंहरूलाई आफ्नो स्वतन्त्रा फिर्ता दिन अमेरिका पार्टी गठन गरिएको छ ।’ मस्कले नयाँ पार्टीले अमेरिकाको द्विपक्षीय राजनीतिक दल रिपब्लिकन र डेमोक्रेटिकलाई चुनौति दिने बताएका छन् ।

उनले जुलाई ४ मा अमेरिकी स्वतन्त्रता दिवसमा ‘के तपाईं दुई दलीय प्रणालीबाट मुक्ति चाहनुहुन्छ ?’ भन्ने प्रश्नमा एक्समा पोलसमेत गरेका थिए । सो सर्वेक्षणमा नयाँ दलका पक्षमा तेब्बर बढी समर्थन आएको उनको दाबी छ ।

शुक्रबार ट्रम्पले कर कटौती र खर्च वृद्धिसम्बन्धी ‘बिग ब्युटिफुल बिल’ मा हस्ताक्षर गरेको पृष्ठभूमिमा मस्कले नयाँ दलसम्बन्धी घोषणा गरेका हुन् । उनले सो विधेयकको कडा आलोचना गर्दै आएका छन् । यसैलाई लिएर ट्रम्पसँग उनको सम्बन्धमा फाटो आएको थियो । उक्त विधेयकले अमेरिकी बजेट घाटा २ ट्रिलियनबाट बढाएर २.५ ट्रिलियन पुर्‍याउने भन्दै मस्कले ‘देशलाई चुर्लुम्मै ऋणमा डुबाउने’ खतरनाक निर्णय भनेका छन् ।

सन् २०२४ को निर्वाचनमा ट्रम्पका लागि अर्बौं डलर खर्च गरेका मस्कले ट्रम्प प्रशासनमा ‘सरकारी दक्षता विभाग’ (डज) को प्रमुख भएर काम गरेका थिए । त्यसको उद्देश्य नै खर्च कटौती थियो । तर, ‘बिग ब्युटिफुल बिल’ मा खर्च वृद्धिका व्यवस्था भएपछि उनी र ट्रम्पबीच विवाद बढेको बताइन्छ ।

सम्बन्धित समाचार

सबै