राष्ट्रिय परीक्षा बोर्डले वैशाख २९ भित्र (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार जिल्ला जिल्लाबाट मार्कस्लिप र उत्तरपुस्तिका आइरहेको छ । ‘मार्कस्लिपलाई छुट्टाएर इन्ट्री गरिरहेका छौँ । उत्तरपुस्तिका पनि आइरहेको छ,’ उनले भने ।
एसईई १९ देखि २९चैतसम्म सञ्चलान भएको थियो । यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएको थियो । परीक्षा सकिए लगत्तै केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरिएको हो । यसरी परीक्षण भएका उत्तरपुस्तिकासहित मार्कस्लिप बोर्डमा आइरहेको हो । हालसम्म ८–१० वटा जिल्लाबाट आइसकेको छ । बोर्डमा हाल ३० जना कर्मचारीको टोली खटिएर काम गरिरहेको छ ।
इन्ट्रीका लागि मात्र १७ जना कर्मचारी खटिएका छन् । समयमा नतिजा सार्वजनिक गर्नका लागि बिदाको दिन समेत कर्मचारीहरूले काम गरिरहेका छन् । सरकारले १ महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएको थियो । सोही अनुसार बोर्डले त्रुटि नुहुने गरी नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।
परीक्षा सकिएपछि ढिला नतिजा सार्वजनिक हुँदा विद्यार्थीलाई अनावश्यक तनाव हुने गरेको भन्दै सरकारले छिटो नतिजा निकाल्ने नीति लिएको हो ।