रसुवामा बाढीको वितण्डाः नेपाल–चीन जोड्ने मितेरी पुल र दर्जनौँ गाडी बगायो, १८ जना बेपत्ता

0 Shares

नेपालको उतरी छिमेकी चीनको तिब्बत हुँदै रसुवागढी नाकामा आएको भीषण बाढीले व्यापक क्षति पुर्याएको छ । भीषण वर्षासँगैको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । यस्तै भन्सारको यार्ड ड्राइपोटमा रहेका १०० भन्दा बढी गाडी बाढीले बगाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता सुरेश सुनारले १८ जना मानिसहरु बेपत्ता भएको प्रारम्भिक जानकारी आएको बताए ।

‘उनीहरुको खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकायका टोली परिचालित भएका छन्,’ प्रवक्ता सुनारले भने, ‘रसुवागढीमा नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको, टिमुरे सुक्खा बन्दरगाह र केही हाइड्रोपावरमा पनि क्षति पुगेको प्रारम्भिक रिपोर्ट आएको छ ।’ उनले क्षतिको पूर्णविवरण संकलनको काम भइरहेको बताए ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार आज बिहान करिब ३ बजेतिर लेदोसहितको बाढी आउँदा क्षति पुगेको हो । सुक्खा बन्दरगाहमा रहेका गाडीहरु बगेका थिए । ती गाडीका चालक–सहचालकहरु पनि बाढीको चपेटामा परेका थिए ।

सामाजिक सन्जालमा सार्वजनिक भिडियोहरुमा पनि गाडीहरु बाढीमा बगिरहेको, बाढीमा फसेकाहरु रुखमा चढेर जोगिने प्रयास गरिरहेको र नेपाली सेनाको हेलिकप्टरले उद्धार गरिरहेको देखिन्छ ।

सम्बन्धित समाचार

सबै