काभ्रे । हाल धमाधम स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्र्तगत धुलिखेल – साँगा सडकखण्डको कालोपत्र सुरु गरिएको छ । धुलिखेलबाट बनेपातर्फको तीन किलोमिटर सडक असारभित्र कालोपत्र सम्पन्न गर्ने सूर्यविनायक – धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ ।
साँगा–धुलिखेल सडकखण्ड ६ लेनमा विस्तार भइरहेको हो । सूर्यविनायक–साँगा र साँगा–धुलिखेल गरी दुई खण्डमा सडक विस्तार भइरहेकामा साँगा–धुलिखेल खण्ड कालोपत्र सुरु गरिएको हो । आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले धुलिखेल मुख्यचोकदेखि बनेपातर्फको बाँसघारीसम्म एक किलोमिटर सडक हाल कालोपत्र सुरु गरिएको बताए ।
सूर्यविनायक–धुलिखेलसम्म १६ किमी छ । जसमा सूर्यविनायक–साँगा ७ दशमलव ५ किमी र साँगा–धुलिखेल ८ दशमलव ५ किमी छ । उक्त दुरीमा ६ लेन सडक विस्तार तीन वर्षमा सम्पन्न गर्ने गरी दुई खण्ड, दुई चरणमा ठेक्का सम्झौता गरिएको थियो ।
आयोजनाका इन्जिनियर खनालका अनुसार सडकको मुख्य भागमा ८० सेन्टिमिटरको कालोपत्र हुने छ । पहिलो तहमा ३० देखि ३५ समीको ‘सबबेस’, त्यसपछि २० सेमीको ‘सिटिपी’ गरी त्यसमाथि १० सेमीको ‘क्र्याक–रिलिफ लेयर’ हालेर त्यसमाथि ११ देखि १३ सेमीको ‘डिबिएम’ गरी त्यसमाथि ६ सेमीको ‘आस्पाल्ट कङ्क्रिट लेयर’ गरी जम्मा ८० सेमीको आधुनिक प्रविधिबाट कालोपत्र भइरहेको हो ।
सूर्यविनायक–साँगासम्मको ठेक्का विसं २०७९ मङ्सिर र साँगा–धुलिखेलसम्मको ठेक्का सम्झौता २०७९ पुसमा गरिएको थियो ।