साताव्यापी चीन भ्रमणमा पूर्वराष्ट्रपति भण्डारी : बेइजिङबाट सम्झिन् मदन भण्डारी र समृद्ध नेपाल, सुखी नेपाली

0 Shares

चीन भ्रमणमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) अन्तर्राष्ट्रिय विभागद्वारा बेइजिङमा आयोजित छिमेकी देशका राजनीतिक दलहरूसँग संवाद सम्मेलनलाई सम्बोधन गरेकी छिन् ।

२२ मिनेटको मन्तव्यमा भण्डारीले नेपाली-चीन सम्बन्धबारे प्रकाश पारिन् । उनले नेपालको विकास, समृद्धिमा चीनले निरन्तर पुर्‍याएको सहयोगको सराहना गरिन् । उनले नेपालमा दुई ठूला पार्टीहरूले समृद्ध नेपाल सुखी नेपालीको एजेन्डा सफल पार्न कार्यक्रम अघि सारेको चर्चा गरिन् । उनले नेपालको राजनीतिक रुपान्तरणमा मदन भण्डारीले खेलेको भूमिकालाई विशेष उल्लेख गरिन् ।

‘नेपालको विकासमा चीनको सदा साथ सहयोग छ, जसका लागि म धन्यवाद दिन चाहन्छु,’ भण्डारीले भनिन्, ‘नेपालको राजनीतिक रुपान्तरणमा विगतमा मदन भण्डारीले पुर्‍याएको वैचारिक योगदान आजपर्यन्त स्मरणीय छ । यति बेला नेपालको सरकारले उनकै विचारको जगमा समृद्ध नेपाल सुखी नेपालीको अवधारणा कार्यान्वयन गरिरहेको छ ।’

भण्डारीले विभिन्न देशका पार्टीका पाहुनाहरूलाई सम्बोधन गर्दै अब एसिया विश्व शान्ति र स्थिरताका केन्द्र बन्नुपर्ने बताइन् । उनले छिमेकका देशहरूले शान्ति, स्थिरता र समृद्धिका लागि गरिरहेको योगदानलाई कसरी सघाउन सकिन्छ भनेर चीनले सोच्नुपर्ने मत पनि राखिन् ।

भण्डारीले भनिन्, ‘यति बेला विश्व शान्ति र समृद्धिका लागि एसियाले भूमिका खेल्नुपर्ने र नेतृत्व गर्नुपर्ने बेला आएको छ । यसका लागि म चीनलाई सकारात्मक अग्रसरताका लागि आग्रह गर्छु । नेपाल लगायत छिमेकी देशहरू पनि एसियामा शान्ति र स्थिरता छाएको, अनि बाँकी विश्वलाई नेतृत्व गरेको, अभिप्रेरित गरेको हेर्न चाहन्छन् ।’

मन्तव्यको क्रममा भण्डारीले नेकपा एमाले र सीपीसी बीचको सम्बन्धबारे पनि चर्चा गरिन् ।

उनी पूर्वराष्ट्रपतिका रूपमा भन्दा एमाले प्रतिनिधिमण्डको प्रमुखका रूपमा नै कार्यक्रममा भाग लिएको सहभागीले बताएका छन् ।

चिनियाँ नेताहरुसँग भेटवार्ताका क्रममा भण्डारीले एक चीन नीतिप्रति नेपालले सधै‌ साथ र समर्थन दिने प्रतिबद्दता व्यक्त गरिन् । चिनियाँ नेताहरुले नेपाललाई दिँदै आएको साथ समर्थन कायम रहने आश्वासन दिए ।

सम्बन्धित समाचार

सबै